काठमाडौं । कीर्तिपुरबाट छुटेको माइक्रोबस सुन्धारा धरहराको अघिल्तिर आएर रोकियो ।
सहचालकले हत्तपत्त ढोका खोलेर कराए ‘छिटो छिटो झर्नुस्’ । अनि फेरि कराउन थाले, ‘कालिमाटी, बल्खु, कीर्तिपुर ।’
भित्र खाँदिएर बसेका र उभिएका यात्रुहरु बिस्तारै पालैपालो गाडीबाट ओर्लिए । कोही पसिना पुछ्दै थिए, कोही जीउ तन्काउँदै ।
कीर्तिपुरका किशोर जोशी पनि पसिना पुछ्दै ओर्लिनुभयो । उहाँ हरेक दिन यस्तै उकुसमुकुस र भीडभाड झेल्दै बागबजारको कार्यालय ओहोरदोहोर गर्न बाध्य हुनुहुन्छ ।
‘गाडीमा सिट कहिलै पाइँदैन’ उहाँ भन्नुहुन्छ, ‘सधैं उभिएरै यात्रा गर्नुपर्छ । गाडीभित्र साँघुरो भएकाले निहुरिएरै यात्रा गर्नुपर्छ, झन गाह्रो हुन्छ । सिटमा बस्न पाइएला भन्ने आशा पनि छैन । म त शुरूमै उभिएरै जानुपर्छ भनेर तयार भएर आउँछु । कोचिएरै जानुपर्छ, ढिलो भयो भने अझै गाह्रो हुन्छ । त्यसैले गन्तव्यसम्म झुन्डिएरै भए पनि पुग्नै पर्छ ।’
आफ्नै गाडी नभएकाहरू वा काम विशेषले गन्तव्यसम्म पुग्नुपर्नेहरूलाई सार्वजनिक गाडीमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ । बिहान र बेलुकाको समयमा त सार्वजनिक गाडीहरूमा यस्तो भीड हुन्छ कि उभिन पनि मुश्किल पर्छ । यस्तो अवस्थामा महिला, जेष्ठ नागरिक र बालबालिकाहरूका लागि यात्रा अझै पीडादायक हुन्छ ।
गाडीभित्र अत्यधिक भीड हुँदा महिला यात्रले दुव्र्यवहार सहनुपरेको घटना सामान्यजस्तै बनेको छ । सार्वजनिक यातायातमा दैनिक यात्रा गर्ने महाराजगञ्जकी अनुपा कार्कीको अनुभव पनि यस्तै छ ।
‘महिलालाई सार्वजनिक गाडी चढ्न झनै गाह्रो हुन्छ । पुरुषहरू त दौडेर चाँडै गाडी चढी हाल्छन्, हामीलाई दौडन पनि अप्ठेरो हुन्छ । भिडमा उभिनु त झनै गाह्रो । महिनावारीको बेला त असहज महसुस हुन्छ, यस्तो बेला महिला सिटमा बस्न खोज्दा पनि अरूले बुझ्दैनन्’ उहाँले गुनासो पोख्नुभयो ।
भिडभाडको मौका छोपी पुरुषहरूले दुव्र्यवहार गर्न खोज्ने घटना पनि सामान्यजस्तै छन् । ‘धक्का दिएजस्तो गरेर गलत नियतले छोएको धेरैपटक भोगेकी छु,’ उहाँले भन्नुभयो ।
देशभर झन्डै तीन लाख यात्रुवाहक सार्वजनिक गाडी छन् । काठमाण्डौबाट बाहिरिने वा भित्रिने लामो दूरीका गाडी बाहिरबाट हेर्दा त चम्किला र सुविधासम्पन्न देखिन्छन, तर भित्र पस्नेबित्तिकै ती सबैको अवस्था उस्तै हुन्छ ।
समयमै नहिँड्ने, दुई जना चालक राख्ने कानूनी व्यवस्था पालना नगर्ने, सरसफाइमा लापरबाही गर्ने, यात्रुको सामान सुरक्षामा लापरबाही गर्नेजस्ता समस्याहरू सामान्यजस्तै बनिसकेका छन् । धेरै यात्रु समान हराउने वा चोरी हुने समस्याबाट हैरान छन् । यति मात्र होइन, चालक र सहचालकले जाँडरक्सी पिएर गाडी चलाउने प्रवृत्ति अझै हटेको छैन, जसले दुर्घटनाको जोखिम झन् बढाएको छ ।