सुर्खेत – उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयमै चेक आदानप्रदान गरेको आरोप लागेपछि रद्द भएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान भएको छ ।
डोल्पाको मुड्केचुला गाउँपालिकाको इलमा बन्ने १६ अर्ब रुपैयाँ लागतको आयोजनाको पुनः ठेक्का आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो । ठेक्काको म्याद आउँदाे फागुन २१ गतेसम्म छ । यसअघि सिभिल र हाइड्रोमेकानिकल प्याकेजका लागि १६ अर्ब रुपैयाँ लागत अनुमानसहित कम्पनीले ठेक्का आह्वान गरेकामा पाँच वटा कम्पनीले प्रस्ताव गरेका थिए ।
मन्त्री खड्काले सबै कम्पनीलाई किनारा लगाएर हाई हिमालय हाइड्रो कन्स्ट्रक्शन र एजीईलाई ठेक्का दिलाउने गरी मिलेमतोमा मध्यस्थता गरेको आरोप लागेको थियो । ऊर्जा मन्त्रालयमा नै प्रतिस्पर्धीलाई भेला गराएर चार वटा कम्पनीलाई पछि हटाउने र एउटा कम्पनीलाई ठेक्का दिलाउन मन्त्रीकै कार्यकक्षमा चेक लेनदेन भएको भन्दै अख्तियारमा समेत उजुरी परेपछि गएको पुसको २१ गते ठेक्का रद्द भएको थियो ।
नबिल बैंकको नेतृत्वमा यो आयोजनाका लागि गएको जेठ पहिलो हप्ता वित्तीय व्यवस्थापन भएको थियो । यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । धेरैजसो पूर्वतयारीका कामहरू अन्तिम चरणमा छन् । यस आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ ।