एजेन्सी । विश्वका धनीमध्येमा पर्ने रिलायन्स इन्डस्ट्रिजका मालिक भारतका मुकेश अम्बानीका कान्छा छोरा अनन्त र उद्योगपति वीरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टको विवाह अहिले विश्वभरी नै चर्चाको शिखरमा छ ।
गएको मार्च महिनादेखि सुरु भएको यो विवाह आइतबार अन्तिम रिसेप्सनपछि पूरा भएको छ । झण्डै चार महिनासम्म भएको यो विवाहलाई लिएर प्रशंसा र आलोचना गर्ने दुवै छन् । विवाहका कारण बजारमा आर्थिक गतिविधि बढ्ने भएकोले एकथरीले यसलाई राम्रै मान्ने गरेका छन् ।
तर, ठूलो संख्या भने त्यसलाई राम्रो मान्दैनन् । ठूलो संख्याको जनसंख्या गरिबीको रेखामुनि रहेको भारतमा यसखालको धनको पोज देखाउनुलाई धेरैले नराम्रो रुपमा व्याख्या गरेको पाइएको छ । अम्बाननीका छोराको खास विवाह चाहिँ यही जुलाई १२को दिन थियो । जुन मुम्बईको जियो वर्ल्ड सेन्टरमा भएको थियो ।
विवाह कार्यक्रममा अलग–अलग क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिग्गजहरु सहभागी थिए ।
जिओ वर्ल्ड सेन्टरमा विश्वभरीका ठूला उद्योगपति, कम्पनीका प्रमुख, फिल्म, ग्ल्यामर र खेल जगतका स्टार सहभागी थिए ।
कार्यक्रममा सहभागी हुन बेलायतका पूर्वप्रधानमन्त्रीहरु टोनी ब्लेयर र बोरिस जोहन्सन मात्रै होइन फिफाका प्रमुख जियानी इन्फेन्टिनो सामसङका प्रमुख जय वाइ ली जस्ता सयौं चर्चित व्यक्ति सहभागी थिए ।
विदेशी पाहुनाका अतिरिक्त भारतका राजनीतिक नेता,उद्योगपति, स्पोर्टस स्टार र बलिउडका कलाकारहरु पनि सहभागी थिए । यो विवाहको तयारी चार महिना अघि देखिकै हो । मिडिया रिपोर्टका अनुसार यो विवाह कार्यक्रममा करिब ६ हजार करोड रुपिया खर्च भएको छ ।
“यो शाही विवाह भन्दा कम भएन,” लेखक तथा स्तम्भकार शोभा डेले बीबीसीसँग भनेकी छन्, “हाम्रा बिलिनियर्सहरू नयाँ भारतीय महाराजा हुन् ।”
भारतीयहरुले यस्तो शैली बेलायतबाट सिकेको उनको तर्क छ । दशौं मिलियन्स मानिस गरिबीको रेखामा रहेको बेलामा प्रदर्शन गरिएकोमा आलोचना समेत भएको छ । ‘यो विवाह देशको वास्तविकतालाई उपहास गर्ने खालको भएको’ लेखक तथा कमेन्टेटर सन्तोष देसाईले बीबीसीसँगको कुराकानीमा बताएका छन् ।
पहिला धनको बारेमा कुरा गर्दा कानेखुसी गर्ने गरिएकोमा अहिले सकेसम्म ठूलो स्वरमा प्रचार गर्न थालिएको उनको कथन छ । तेल, टेलिकम, केमिकल्स, प्रविधि, फेसन तथा खाद्यान्नमा राम्रो सहभागिता जनाएका ६६ वर्षिय अम्बानीसँग १२३ बिलियन डलरको सम्पत्ति रहेको फर्बिजको रिपोर्टमा उल्लेख छ ।
जसअनुसार उनी विश्वकै ११औं धनी व्यक्ति हुन् । बेहुलो अनन्त रिलायन्स इन्डस्ट्रिजको बोर्ड अफ डाइरेक्टर हुन् ।