देशको युवा र विकास एक अर्काका परिपूरक हुन् । कुनै पनि देशको विकास युवा जनशक्ति विना सम्भव छैन । युवा सबैभन्दा उर्जाशील जनशक्ति हो । विकासका लागि दरिलो र भरिलो आधारस्तम्भ हुन् युवा । शिक्षक, इन्जिनियर, डाक्टर, पाइलट, किसान, मजदुर आदि सबै क्षेत्रमा युवाको उपस्थिति बलियो छ तर राज्यको नीति बनाउने कुरामा अर्थात् राजनीतिमा अझै युवाको उपस्थिति कमजोर छ । नीतिको तहमा युवाहरू पुगे पनि उनीहरूको न्यूनसंख्याले युवामैत्री, रोजगारीमैत्री काम गर्न सकेका छैनन् । आज पनि अधिकांश शिक्षित युवा औपचारिक शिक्षा आर्जनपछि खाडी मुलुक तथा मलेशियामा आफ्नो श्रम सस्तो मूल्यमा बेच्न विवस छन् । यो हाम्रा युवाहरूको लागि दुर्भाग्य हो भने राज्यका लागि लाजमर्दो हो ।
आज दिनहुँ हजारौं युवा रोजगारीका लागि वा स्थायी बसोबासकै सपना लिएर अन्तराष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिन लाम लागिरहेको कुरा हामीमध्ये धेरैको चिन्ताको विषय किन बनेको छ त ? के यो चिन्ता जायज हो त? चिन्तै लिनु नपर्ने विषयमा हामीले चिन्ता गरेका हौं त? यो चिन्ता हालका केही वर्षमा मात्र किन तीव्र रूपमा बढेको होला जबकि लाखौं नेपाली परदेशमा रोजगारीका लागि काम गर्न लागेको दशकभन्दा बढी भइसकेको छ? यसको आर्थिक र सामाजिक असर नेपालमा कस्तो पर्ला ? के यो नेपालको मात्र समस्या हो कि प्रायः सबै विकासोन्मुख देशहरूको समस्या हो? के विकास नभएर यस्तो भएको हो त? के नेपालमा शिक्षा र स्वास्थ्य निःशुल्क भए यो रोकिने छ त? यस्तै विषयमा आज घोत्लिने प्रयास गरौं ।
युक्रेन र मध्यपूर्वको युद्ध भयावह छ। यस क्षेत्रमा लाखौंको संख्यामा मानिसहरु देश छोडदै छन् । जलवायु परिवर्तन आप्रवासनको सबैभन्दा चुनौतीपूर्ण चिन्ता हो । मानव सभ्यताको इतिहासमा आप्रवासन युद्ध र जलवायु परिवर्तनबाट प्रभावित देखिन्छ।अवसर र रोजगारीको आप्रवासन नयाँ होइन। श्रमिकको माग र आपूर्ति सन्तुलनमा १९९०को विश्वव्यापीकरणले नै संकेत दिइसकेको थियो। यसको परीणाम अहिले देखिँदैछ ।
आर्थिक वर्ष २०७७/०७८ मा हाम्रा युवा ५ लाख ६७ हजारको संख्यामा रोजगारीको शिलशिलामा विदेशिएकोमा २०७०/०७९ मा यो संख्या ६ लाख ३० हजार पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा २ लाख ६४ हजार कामदार कामका लागि विदेशिएका छन् । यही क्रम जारी रहे यो वर्ष कामका लागि विदेशीने युवा कामदारको संख्या आठ लाख नाघ्ने अनुमान छ । पुरुष युवाहरूमात्र होइन चुहृल–(चौकामा सीमित रहेका महिला पनि पछिल्लो समयमा वैदेशिक रोजगारीमा गएर स्वावलम्बन बन्न थालेका छन् ।
पहिलो कुरा त देशको अस्तित्व र स्वार्थ आजको यथार्थ हो । मानिस देशमा विभाजित छन् । विकास र संवृद्धिको संवाहक देश नै हुन हालसम्मलाई । देशको स्वार्थमा नै अन्तराष्ट्रिय राजनीति, सम्बन्ध वा युद्ध पनि हुने गरेका छन् । ‘३ करोड नेपालीले देश छोडेर करोडपति हुन्छन् भने के फरक पर्छ र ? भन्ने परिस्थितिमा हामी छैनौं । विश्वनै आफ्नो घर भन्ने धारणा हाललाई केवल आदर्श हो । संसार आदर्शले होइन यथार्थले चल्छ । देशविहीनलाई जति यो आदर्शको खोक्रोपना अरू कसैलाई महसुस हुँदैन होला सायद । देशको अर्थ नहुने हो भने सबै युक्रेनीले आफूलाई रसियन माने त युद्ध बन्द भइहाल्छ नि । संसारका सबै सीमा विवाद किन हुन्थे? आफ्ना नागरिक मारिँदा र अन्य देशको नागरिक मारिँदाको ठूलो भिन्नता मेटिने अवस्था निकै सुदूरको भविष्यमा पनि आउने होइन ।
नेपालबाट दुई कारणले मानिस बिदेसिने गरेका छन्, रोजगारी र शिक्षा । नेपालीहरू अध्ययनका लागि बिदेसिने क्रम त राणा शासनकै बेलादेखि सुरु भएको हो । सरकारले नै प्राविधिक शिक्षाका लागि केही नागरिकलाई विदेश पठाउँथ्यो । नेपालीहरू वनारस गएर पढ्ने क्रमको इतिहास पनि सयौं वर्षकै छ । निकै ठूलो संख्यामा रोजगारीका लागि जान थालेको त सुगौली सन्धिदेखी हो । विश्वयुद्धमा पनि नेपाली आयआर्जनका लागि निकै ठूलो संख्यामा विदेश गएका थिए । तर, नेपाली स्थायी रूपमा ठूलो संख्यामा विदेश जाने वा लगातार दसकौंसम्म रोजगारीका लागि जनसंख्याको ठूलो हिस्सा विदेशमा बस्ने कुरा चाहिँ नयाँ हो । नेपालमा माओवादी आन्दोलनको समाप्तिसँगै रोजगारीका लागि विदेश जानेको भेल आउन थालेको हो । त्योभन्दा पहिले नेपालमा रोजगारीको अवसरको छेलोखेलो पनि थिएन र देश विकसित पनि थिएन । अनेक नकारात्मक आर्थिक–सामाजिक असरका वाबजुद युवाको समूल बहिर्गमन आम नेपाली बौद्धिक र राजनीतिक जगतको चिन्ताको विषय बनेको थिएन । काठमाडौंलाई यसले छोएको थिएन । यसका केही कारण छन् ।
पहिलो त त्यसरी विदेश गएकाले कठिन परिश्रम गरेर निकै ठूलो मात्रामा वैदेशिक मुद्रा देश भित्र्याउने काम गरे । यसबाट सबै खुसी नै भए । आममानिसको जीवनस्तर सुधार्न यसले निकै मद्दत मिल्यो । उपभोग बढ्यो । बजारमा माग बढेपछि आर्थिक क्रियाकलाप चलायमान भयो । आयात बढ्यो, सरकारको राजस्व पनि मजाले बढ्यो । बालबालिकालाई अलि राम्रो शिक्षा र स्वास्थ्य खरिद गर्न पाउँदा परिवार पनि खुसी हुने नै भयो । बेरोजगार युवाको राजनीतिक आक्रोश खेप्न नपरेपछि रजनीतिक नेतृत्वलाई पनि हाइसञ्चो नै भयो । विदेशबाट पैसा आएपछि घरजग्गा कारोबार पनि बढ्यो र धेरै मानिस रातारात धनी पनि बने । बालबालिका देशभित्रै रहेकाले र विदेश पढ्न जान नेपाली युवाको आर्थिक हैसियत नभइसकेकाले विद्यालय, विश्वविद्यालय, अस्पताल पनि ग्राहकका लागि तड्पिने स्थिति बनिसकेको थिएन । फेरि एकदिन फर्केर आउने निश्चित भएकाले नेपालको सांस्कृतिक क्षेत्रले पनि सुरक्षित नै महसुस ग(यो ।
विकसित देशमा भन्दा बढी आय आर्जन गर्न सक्ने वातावरण नेपालमा निर्माण हुनै सक्दैन । नेपालले शिक्षा र स्वास्थ्य सित्तैमा दिए पनि त्यसको गुणस्तर विकसित देशको जस्तो हुन सक्दैन । विकसित देशमा जति पूर्वाधार बनाउन हामीलाई कयौं दशक लाग्नेछ । हाम्रा लागि त्यति धेरै समय उपलब्ध नै छैन । विकसित देशहरूले उनीहरूको श्रमिकको अभावको समस्या समाधान गर्ने सबैभन्दा सजिलो र सस्तो उपाय नै हाम्रो जस्तो देशले निकै दुःख गरेर तयार पारेको युवाका लागि सीमा खुला गर्नु हो ।
अन्त्यमा युवा मुलुकको आशा र भरोसा हुन् । युवा वर्गको काँधमा देश विकासको ठूलो जिम्मेवारी छ । युवालाई सीपयुक्त, उत्पादशील र नैतिकवान बनाउन सकेमा मात्र राष्ट्रका लागि उपयोगी सामाजिक तथा आर्थिक मूल्य सिर्जना गर्नेक्षमता राख्दछन् । देश चलाउने मुख्य मेरुदण्ड युवाशक्तिलाई देशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ । बेरोजगारी र गरिबी युवा वर्गको मुख्य चुनौती हो । यो चुनौतीलाई अवसरमा बदल्न स्वरोगारी आय आर्जन मिहिनेत पारिश्रम महत्वपूर्ण हुन्छ । यसका लागि युवा सधैं तत्पर रहनुपर्छ । युवाले समयको सही सदुपयोग गरी राष्ट्र निर्माणको कुनै न कुनै काममा व्यस्त रहनुपर्छ र राज्यले पनि युवालाई स्वेदशमा आफ्नो श्रम, सीप र सिर्जना नवप्रवर्तनकारी व्यवसायमा लगाउन सके मुलुक समृद्ध हुन्छ ।
-रूपक शाक्य/कार्यकारी सम्पादक