सन् २०२३ लाई फर्केर हेर्दा.. के के भए विश्वमा ?

20.3k Shares

सन् २०२३ विश्व परिदृश्यमा एक कठिन वर्ष मानिएकाे छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपर्ने दखिन्छ ।

भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो । यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल गर्‍यो । समग्रमा भन्ने हो भने, सुसमाचारको अभाव भएको छ ।

के के भए त सन् २०२३ मा :

१. सन् २०२३ सबैभन्दा तातो वर्ष बनेको छ । विगत १ लाख २५ हजार वर्षमा रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष २०२३ बनेको हो । जनवरी र नोभेम्बरको बीचमा विश्वको औसत तापक्रम १५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । यो पूर्व औद्योगिक युगको तापक्रम भन्दा १ दशमलव ४६ सेल्सियस बढी हो । 

२. २०२३ को फेब्रुअरी ६ मा टर्की, सिरिया र अन्य छिमेकी देशहरूमा गएको विनाशकारी भूकम्पले ६७ हजार मान्छेको ज्यान लिएको थियो । उक्त भूकम्पमा परी मानवीय सँगै अर्बौं भौतिक संरचना नष्ट भएको थियो । हजारौं भवनहरू भग्नावशेष भएका थिए भने त्यहाँ दशौँ हजार मानिस फँसेका थिए । 

३. २०२३ को एउटा महत्त्वपूर्ण र सम्झनलायक घटना अन्तरिक्ष यात्रामा भएको ठूलो प्रतिस्पर्धा हो । विभिन्न देश र निजी कम्पनीहरूले अन्तरिक्ष यात्राका लागि ठूलो होडबाजी गरेका छन् । विश्वका ७७ देशमा अन्तरिक्ष एजेन्सीहरू छन् भने तीमध्ये १६ सँग अन्तरिक्षमा मानव र अन्य पेलोड पठाउने क्षमता छ । भारतले चन्द्रमामा मानवरहित यान पठाउने चौथो र दक्षिणी ध्रुवमा पुग्ने पहिलो राष्ट्र बनेको छ । नासाले सन् २०२५ सम्म चन्द्रमामा मानिस पठाउने योजना बनाएको छ । 

४. गत जुन १८ मा उत्तरी एटलान्टिक महासागरमा ५ जना पर्यटक बोकेको टाइटन नामको पनडुब्बी दुर्घटनामा परेर सबैको ज्यान गयो । सय वर्ष अघि डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न उक्त पनडुब्बीमार्फत पर्यटकहरू गएका थिए । समुद्री सतहबाट १२ हजार फीटमा रहेको टाइटानिकको अवशेष हेर्न जाने क्रममा साे दुर्घटना भएकाे थियो ।

५. सोभियत संघको पतन पछि अजरबैजान र अर्मेनियाले अजरबैजानको एक प्रान्त नागोर्नो-काराबाखलाई लिएर लड्दै आएका थिए । मुख्यतया: जातीय हिसाबले आर्मेनियालीहरूको बसोबास रहेको उक्त क्षेत्रलाई अर्मेनियाले नियन्त्रणमा राखेको थियो । 

६. सन् २०२३ मा सुडान एक लोकतान्त्रिक राष्ट्र बन्ने अपेक्षा गरिएको थियो । तर सुडान पुनः गृहयुद्धमा फंस्यो । गत १५ अप्रिलमा शुरू भएको गृहयुद्धमा सेनासँग प्यारामिलिटरी फोर्स लडिरहेको छ । १२ वर्षअघि गृहयुद्धकै कारण दुई टुक्रामा विभाजित भएको सुडानमा पुनः गृहयुद्ध चर्किएको हो ।

७. सन् २०२२ र २०२३ को शुरुवाती महिना पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानको निकै व्यस्त समय थियो । अप्रिल २०२२ मा अविश्वास प्रस्तावद्वारा पाकिस्तानको प्रधानमन्त्री पदबाट हटाइएपछि क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनलाई तोशाखाना मुद्दामा हिरासतमा राखियो । यसैबीच, परिस्थितिले लन्डनमा चार वर्ष निर्वासनमा बिताएका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई फर्कन सम्भव बनायो ।

८. सन् २०२३ मा भाषा मोडेलमा आधारित कृत्रिम बौद्धिकता (AI)सम्बन्धी ठूला प्रविधिहरू विकास भएका छन् । यसबाट विश्वका करोडौंले फाइदा लिन शुरू गरेका छन् । यस्तो कृत्रिम बौद्धिकताले मानव जाति समृद्धिको नयाँ युगमा प्रवेश गर्छ वा भविष्यमा डरलाग्दो परिणाम दिन्छ भन्ने बारेमा गहन छलफलहरू निम्त्याएको छ । आलोचकहरूले यो प्रविधि मानवको क्षमताभन्दा छिटो विकास भइरहेको र यसले निम्त्याउन सक्ने हानिको आँकलन र न्यूनीकरण गर्न सक्ने बताएका छन् । यसले व्यापक बेरोजगारी सिर्जना गरिरहेको, विद्यमान सामाजिक असमानताहरूलाई कडा पारिरहेको, मानवताको लोप हुनुमा मलजल गरिरहेको दावी गरेका छन् । बहस जारी छ र अझै केही बर्ष लम्बिने छ ।

९ . यस वर्षको शुरूमै भारतको जनसंख्याले चीनलाई उछिनेको छ । अहिले भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्र संघको जनसंख्या कोष ९युएनएफपीए०को विश्व जनसंख्या प्रतिवेदन २०२३ अनुसार भारतको अनुमानित जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख छ भने, चीनको अनुमानित जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको छ । सोही अवधिमा चीनको औसत आयु ३९ वर्षबाट बढेर ५१ वर्ष पुग्नेछ । यसबीच भारतको जनसंख्या मध्य शताब्दीसम्ममा करिब १.७ अर्ब पुग्ने छ र यसको औसत आयु ३९ वर्ष हुनेछ ।

१०. गत अक्टोबरमा शुरू भएको इजरायल-हमास द्वन्द्वमा झन्डै २०,००० प्यालेस्टाइनीको मृत्यु भएको छ र दशौं हजार बढी घाइते भएका छन् । गाजा क्षेत्रका करीब २० लाख जनता विस्थापित भएका छन् । हमासले गत अक्टोबर ७ मा इजरायलविरुद्ध गरेको अप्रत्यासित आक्रमणको विरुद्धमा इजरायलले सैन्य कारवाही गरेको थियो ।

सम्बन्धित समाचार