काठमाडौं । कोभिडको महामारीलाई भुल्दै नर्मलमा फर्किन थालेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो कोभिड १९ तथ्यांकले खतराको घण्टी बजाएको छ ।
मन्त्रालयको अनुसार सोमबार ४ हजार ४७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड-१९ को संक्रमण भेटिएको छ । गएको २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।
महामारीको पछिल्लो अवस्था र तथ्यलाई नियालिरहेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला कोरोना भाइरस समुदायकै बीचमा हुदाँ पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम देखिएको बताउँछन् ।
डाक्टर बास्तोलाकाअनुसार पछिल्लो समय प्रत्येक महिना २८/३० जना बिरामी टेकु अस्पतालमा भर्ना भएका छन् । यसरी संक्रमित भेटिइरहेको बेलामा महामारीलाई नजरअन्दाज गरेकाले अहिले संक्रमण बढेको उनको तर्क छ । ‘संक्रमण नभएको अवस्थामा पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्थ्यो’ डाक्टर बास्तोला थप्छन्, ‘तर संक्रमित भेटिइरहेको बेलामा पनि हामी पार्टी, भोज, नारा, जुलुस र सभा सम्मेलन गर्न थाल्यौं, गल्ती यहीँ भयो ।’
टेकु अस्पतालमा सोमबार मात्रै २ जना संक्रमित भर्ना भएका छन् । ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । लक्षणसहित परीक्षण गराउने आउने शंकास्पद संक्रमितको संख्या पछिल्लो १० दिनमा बढेको छ । डाक्टर बास्तोला पछिल्लो समय आफूले भोगेको एउटा घटनाले नयाँ आशंका जन्माएको बताउँछन् ।
उनकाअनुसार फागुन ७ गते एउटा होटलमा जमघटमा रहेका व्यक्ति एक हप्तापछि ज्वरो खोकी र सास फेर्न गाह्रो भएको भन्दै टेकु अस्पतालमा भर्ना भए । कोभिड-१९ को परीक्षण नतिजा पोजेटिभ देखायो भने एक्स-रे रिपोर्टमा निमोनिया । ५ दिनको उपचारपछि उनी घर फर्किए । तर, उनी सहभागी जमघटमा भएका ४० जनामा पीसीआर गर्दा १९ जनामा संक्रमण देखियो, जसमध्ये ७ जना त अस्पताल भर्ना भएको डाक्टर बास्तोला बताउँछन् । ‘५ घण्टाको एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन’ डाक्टर बास्तोला भन्छन्, ‘नयाँ भेरियन्टको भाइरस फैलिएको हो कि भन्ने आशंका छ ।’